के हो बिटक्वाइन?
बिटक्वाइन संसारकै पहिलो अभौतिक मुद्रा (डिजिटल करेन्सी) हो । यसलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ । भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् तर बिटक्वाइन विश्वको जो कोही मानिसले पनि बनाउन सक्दछन् । यो ओपनसोर्स सफ्टवेयरमा आधारित हुन्छ । यसलाई नियन्त्रण गर्ने कुनै देश वा संस्था हुँदैन जसले गर्दा भुक्तानी प्रणाली सजिलो तथा सस्तो पर्न जान्छ। बिटक्वाइन आफैंले बनाउन वा बजारबाट डलर, सुन जस्तै किन्न सकिन्छ । नेपालमा नेरु र भारुले मात्र सामान किन्न पाइन्छ । तर बिटक्वाइन भने विश्वका धेरै मुलुकमा चल्दछ । यसको कारोबारमा कुनै सीमा हुँदैन र यसको कारोबार इन्टरनेटबाट हुने हुँदा संसारको जुनसुकै कुनाबाट पनि कारोबार गर्न सकिन्छ।
कसरी सुरु भयो ?
सन् २००९ मा सतोषी नाकामतो भन्ने छदम नाम राखेका व्यक्तिले बिटक्वाइन सुरु गरेका थिए । बिटक्वाइन माइनर (अत्याधुनिक कम्प्युटर) प्रयाेग गरेर यस्ता विद्युतीय सिक्काको निर्माण गरिएको थियो । अहिले संसारका जुनसुकै व्यक्तिले माइनिङ एप्लिकेसनमार्फत यस्ता सिक्का सजिलै बनाउन सक्छन् । सुरुमा सतोषी नाकामतो भन्ने व्यक्तिले ५० ओटा बिटक्वाइनको बन्डल तयार गरे । त्यसपछि ती बिटक्वाइनलाई अरू व्यक्तिहरूसँग साटासाट गरेर माइनिङलाई तीव्रता दिए । व्यक्ति व्यक्ति हुँदै यो फैलिदै गयाे र विश्व बजारकाे एउटा ठुलाे हिस्सा बन्न गयाे । सुरुमा यसलाई अनलाइनमा गेम खेल्न, अनलाइनमा काम गरेर पैसा कमाउने व्यक्तिहरूले रमाइलो र अनुभवका लागि कारोबार गर्ने तथा माइनिङ गर्दै गए ।
के हो माइनिङ ?
माइनिङ गर्ने भनेको विशेष सफ्टवयर मार्फत दुई व्यक्तिबीच बिटक्वाइनको कारोबार हुँदा बिटक्वाइन पठाउने व्यक्तिले वास्तविक बिटक्वाइन पठाएको हो कि होइन भनेर परीक्षण गर्ने काम हो । यसरी जाँच गर्दा ब्लकचेन भनिने अभिलेखबाट प्रमाणीकरण भएपछि कारोबार सफल हुन्छ । यसको कारोबारको प्रमाणीकरण र अभिलेखको सम्पूर्ण विवरण संसारभरका माइनिङ एप्लिकेसन चलाइएका सबै कम्प्युटरमा एकसाथ पुग्छ । त्यसकारण यसको रेकर्ड हराउने, नष्ट हुने वा कसैले परिवर्तन गरिदिने सम्भावना हुँदैन । यसबाहेक नयाँ ‘क्वाइन’ उत्पादन पनि माइनिङ प्रकृयाबाटै हुन्छ । बिटक्वाइन अाफुखुसी जति मन लाग्याे त्यति सिर्जना गर्न सकिँदैन । बिटक्वाइनको नियमअनुसार गणितीय आधारमा नयाँ क्वाइनहरु सिर्जना हुँदै जान्छन् । संसारमा दुई करोड १० लाखभन्दा बढी बिटक्वाइन सिर्जना हुन सक्दैन । यी सबै क्वाइन सिर्जना हुन सन् २१४० सम्म (अझै एक सय २० वर्ष) लाग्छ ।
ब्लकचेन कहाँ स्टोर हुन्छ ?
जसरी तपाईंले पैसा राख्न बैंकमा खाता खोल्नुहुन्छ, त्यस्तै यसका लागि पनि एउटा बिटक्वाइन एकाउन्ट खोल्नुपर्दछ। जसलाई बिटक्वाइन वालेट भनिन्छ। यसमा तपाईंको एकाउन्ट नम्बर र डिजिटल सिग्नेचर हुने गर्छ। संसारमा जति पनि बिटक्वाइनका प्रयोगकर्ता हुन्छन्, सबैको कारोबार एउटा लेजरमा राखिएको हुन्छ। त्यसमा तपाईंको नाम र जम्मा रहेको बिटक्वाइन हुन्छ। त्यसकाे रेकर्ड ब्लकचेनमा थपिँदै जान्छ । यसको डाटाबेस कुनै व्यक्ति कम्पनीले राखेको हुँदैन । विश्वभर जतिजनाले माइनिङ एप्लिकेसन प्रयोग गर्दछन् । ती सबैको कम्प्युटरमा यो रेकर्ड रहेको हुन्छ । त्यसैले यसको रेकर्ड हराउने वा नष्ट हुने सम्भावना हुँदैन । यसको नियम कसैले बदल्न सक्दैन ।
बिटक्वाइनको मूल्य
बिटक्वाइन सन् २००९ मा बनेकाे भए पनि यसले बजार मुल्य पाउन थालेकाे सन् २०१० बाट देखिन्छ । सुरूवात सन् २०१० मा यसकाे भ्यालु १ बिटक्वाइन बराबर ०.०९ डलर थियाे । सन् २०१२ मा १३ डलरमा काराेबार भएकाे थियाे । सन् २०१४ मा ६३० डलरमा काराेबार भएकाे थियाे । त्यस्तै सन् २०१६ मा ७८० डलरमा काराेबार भएकाे थियाे भने सन् २०१८ मा ३३०० डलरमा काराेबार भएकाे थियाे । अाजकाे समयमा भने १ बिटक्वाइन बराबर ९८१९ डलर रहेकाे छ ।
दिनप्रति दिन यसकाे मुल्य बढ्दै गइरहेकाले यसमा लगानी गर्नेहरू तीव्र रूपमा बढिरहेका छन् । विश्वमा बिटक्वाइनजस्ता अन्य थुप्रै क्रिप्टोकरेन्सी बनाइएको छ । बिटक्वाइनको प्रमाणीकरण र अभिलेख प्रणालीमा लगानीकर्ताहरुको विश्वास बढ्दै गए पनि त्योभन्दा सस्तो मूल्यमा पाइने अन्य क्रिप्टोकरेन्सीहरुको विश्वसनीयता बढ्न सकेको छैन । त्यसकारण जथाभावी पाइने क्रिप्टोकरेन्सीमा लगानी गर्दा उच्च जोखिम मोल्नुपर्ने अवस्था छ । यसबाट जोगिन लगानीकर्ता सचेत हुनुपर्नेछ ।
यो कानुनसम्मत कि गैरकानुनी ?
बिटक्वाइनका केही सबल पक्ष हुँदाहुँदै पनि यसका केही चुनौती पनि छन्। बिटक्वाइनको कारोबार नियन्त्रण गर्ने कुनै निकाय नहुँदा यसको प्रयोग धेरैजसो गैर कानुनी काम जस्तै: कर छली, सम्पती शुद्धीकरण, आतंकवादी तथा ह्याकिङ गतिविधि भइरहेको छ। जसले गर्दा देशको अर्थतन्त्रमा नकारात्मक असर देखिन जान्छ। त्यसैले संसारका धेरै देशमा बिटक्वाइनको कारोबार गैरकानुनी मानिन्छ भने युएस, क्यानडा, अस्ट्रेलिया, युरोपियन युनियन जस्ता देशमा भने यसको कारोबार कानुनसम्मत मानिन्छ। नेपालमा पनि राष्ट्र बैंकले गैरकानुनी घोषित गरेको छ। यो यस्तो व्यवसाय हो जसमा अत्यधिक जोखिम हुन्छ साथसाथै अत्यधिक मुनाफा पनि।
– इन्टरनेटमा उपलब्ध बिभिन्न श्राेतकाे सहयाेगमा तयार